Saturday, March 19, 2011

बन गोडमेलको नाममा व्यापक तस्करी

सीताराम अधिकारी 
धादिङ । समाचार संकलनको सिलसिलामा कालुपाण्डे मार्ग हुँदै सदरमुकामतर्फ लाग्दैगर्दा नलेखिएको तर ठूलो समाचार सडक भरि देखा पर्यो । कसैले पनि समाचार नबनाएको तर दिनदिनै हुने बन फडानीको नमूना सडकमा असरल्ल छ । 
बन गोडमेलको समाचारहरु स्थानीय संचारमाध्यामले प्रकाशन प्रसारण गरिहेका छन् । जिल्लाबाट प्रकाशित पत्रिकाहरुमा कूकाठहरु गोडमेलबाट निस्केका दाउरा तथा सल्ला काठ लिलाम विकि्रको सूचनाहरु समेत प्रकाशन भइरहेको हरेक जसो अंकमा देख्न सकिन्छ । यि सबै सूचनाहरु त देखाउने बहाना एउटा बैधानिकता दिने बाटो पो रहेछ । सडकमा आएर हेर्दा प्रस्ट भयो कि बन फाँडेर तस्करी गर्नेहरुको आम्दानी गर्नेहरुको सकि्रय गिरोह नै लागि परेकोले एक दुइ जनाको प्रयासले मात्र केही नहुने बनका कर्मचारीले समेत बताए । 
मलेखुबाट सदरमुकामसम्म पुग्दा बेलुकाको साँढे ७ बजेको थियो । सडकको दुरी १८ किलोमिटर मात्र रहेको छ । सडकमा गुड्ने गाडीको संख्या बेलुका भएको एकदमै कम थियो । मोटरसाइकल दुइचारओटा मात्र थिए । तर ट्रकमा काठ ओसार्ने क्रम यहि बेला ब्यापक हुने गरेको देखियो । आधा घण्टामा सदरमुकाम पुग्दा १६ वटा ट्रकमा काठ ओसारेको दृश्य देख्न पाइयो । ट्याक्रहरुले पनि उत्तिकै मात्रामा काठ ओसारेको देखियो । रातको समयमा ट्याक्टरमा मधुरो बत्ती भएकोले होला अर्को बत्तीको सहाराले ७ ओटा ट्याक्टरले पनि काठ ओसार्दै थिए । 
विकासको नाममा बाटो खन्न विद्यालय बनाउन तथा अन्य विकासको काम गर्नका लागि बन काट्ने र गोडमेल गरेको नाममा निस्केको कूकाठ भन्दै जंगलका सबभन्दा ठूला रुखहरु विकि्र गर्ने चलन बढेकोले यस्तो भएको सामुदायिक बन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र बस्नेतले बताउनुभयो । 
बन समुदायलाई हस्तान्तरण गरेका कारण सामुदायिक बनमाथी सबै अधिकार उपभोक्ताको हुने भएकोले आफूहरुको कुनै अधिकार नभएकोले बन छाँटकाँट गरेर निस्केको काठ विकि्र गर्न पाउने अधिकार उपभोक्ता समितिलाई नै भएको जिल्ला बन कार्यालयको भनाइ छ । तर सामुदायिक बनबाट निकासी गर्नु पर्ने काठको निकासी गर्नका लागि जिल्ला बन कार्यालयले निकासी अनुमति दिने गरेको काठ व्यवसायिहरुले बताएका छन् ।  
अहिले जिल्लाको चैनपुर मैदी नलाङ सलाङ खरी साङकोष नीलकण्ठ कल्लेरी कुम्पुर धुषा बेनीघाट बैरेनी गोगनपानी लगायतका गाविसहरुको बनहरुबाट ब्यापक रुपमा बन कटानी भएको भएपनि नियन्त्रण गर्नु पर्ने जिल्ला बन कार्यालयले कुनै पहल नगरेको उपभोक्ताहरुको गुनासो छ । 
मैदी नलाङ र मुरलीभाज्याङका उपभोक्ताहरुले नियन्त्रण गर्ने निकाय र काठ विकि्र गर्न कुकाठ भनेर अनुमति दिने निकाय समेतको मिलेमतोमा बन तस्करी बढेको बताएका छन् । 
अहिले सबै स-मिलमा हेर्ने हो भने दाउराको नाममा काटिएका गोलाइ काठ अत्याधिक मात्रामा देख्न सकिन्छ । गालो मोटो साल लगायतका राम्रो काठको रुपमा परिचित धेरै जसो काठ फर्निचर उद्योगमा बन तस्करहरुले बिकि्र गरिरहेको देख्न पाइन्छ । जिल्ला घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा हालसम्म ६९ वटा फर्निचार उद्योग दर्ता भएको देखिन्छ । गतवर्षहरुको तुलनामा यो संख्या अत्याधिक रहेको बताइएको छ । 
जिल्ला बन कार्यलयले कुकाठको नाममा दिने निकासीको अनुमति व्यापक रुपमा दुरुपयोग भएको अवस्था । एक पटकका लागि दिइएको अनुमतिले महिनौँदिनसम्म प्रयोग गर्ने गरेको पाइएको छ । थोरैको अनुमति भएपनि अत्याधि लगेर विििक्र गर्ने र चेक जाँच समेत नगर्ने पायएको छ । तर काठको तस्करी हुँदै गरेको थाहा पाएको अवस्थामा जो कोहीले पनि बाटोमा रोकेर रकम असुल्ने गरेको काठ ढुवानी गर्दै गरेका एक गाडी चाललकले आफ्नो नाम नबताउन अनुरोध गर्दै बताएका छन् । 
पत्रिका एउटा थोरै र कू काठको लागि निकासी र विकि्रका लागि गरिएको सूचनाको आधारमा जिल्लाको बन २०४६ सालको तुलनामा तस्करी भइरहेको बन संरक्षणमा लागेका कार्यकर्ताहरुले बताए छन् । सिमित ठेकेदार बन उपभोक्ता समितिका केही व्यक्ति र बन कार्यालयका केही व्यक्ति मिलेर बन तस्करी भइरहेको देखेपनि कारबाही गर्नु पर्ने निकाय र अधिकारप्राप्त अधिकारी कानमा तेल हालेर बसेका छन् ।  

No comments: